होमपेज / समाज
काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि इलाम - २ र बझाङ - १ (१) मा निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुँदैछ।
साथै आज बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले जानकारी दिए ।
उपनिर्वाचनका लागि नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा माओवादीले इलाममा आफ्नाे उम्मेदवारी नदिनेकाे भएकाे छ । इलाममा एमालेलाई सघाउने भएकाे छ भने बझाङमा उम्मेदवारी दिने कुनै निर्णय गरेकाे छैन । यस्तै नेपाली कांग्रेसले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई उठाएकाे छ भने राप्रपाले लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपाले प्रेमदिप थाम्सुहाङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।