होमपेज / समाज
काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोख्रेलले एक समारोहमा तालिमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूर्ण हुने बताउनु भयो ।
परिषद्का अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले पक्ष विपक्षलाई राखेर गरिने मध्यस्थताका क्रममा अपनाइने विभिन्न प्रक्रियाका बारेमा जानकारी राख्न यो तालिम निकै उपयोगी हुने बताउनु भयो ।उहाँले भन्नुभयो, तालिमले मध्यस्थता गर्ने जनशक्ति मात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको छ ।
उक्त अवसरमा सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौला, उच्चअदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, विशेष अदालतबार एशोसियसनका संयोजक चुडामणि पौडेल, जिल्लाबार एशोसिएसन ललितपुरका अध्यक्ष राम श्रेष्ठ र एडभोकेट सोसाइटी नेपालका अध्यक्षअर्जुन प्रसाद ढकालले तालिमको महत्व र आवश्यकताका बारेमा आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
पाँच दिनसम्म चल्ने उक्त तालिममा मुलुकका विभिन्न जिल्लाबाट ४२ जनाको सहभागिता रहेको छ । विभिन्न विधाका विज्ञ प्रशिक्षकहरुले मध्यस्थता सम्बन्धि विभिन्न पक्षकाबारेमा प्रशिक्षण दिनु हुने छ ।