होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर सुर्खेतमा मंगलबारदेखि तेस्राे कर्णाली एक्सपो शुरुवात भएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले एक समाराेहका बीच कर्णाली एक्साेकाे उद्घाटन गर्नुभयाे। 'समृद्ध कर्णाली, सुखारी कर्णालीबासीकाे आधार : प्राकृतिक स्राेत प्रांगारिक कृषि संस्कृति, पर्यटन र उद्याेग हुन् पूर्वाधार' भन्ने मूल नाराका साथ सुरु भएकाे कर्णाली एक्सपोकाे मुख्य उद्देश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवर्द्धन र संस्कृति र जडिबुटी सम्भावनाको उजागर गर्ने रहेको आयोजकले बताएकाे छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि एक आपसमा आरोप प्रत्यारोप गर्नुकाे साटाे सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरु लागिरहेको बताउँदै उहाँले एकल अधिकारमा पाएका व्यवस्था कार्यान्वयन हुन नसकेको भन्दै संघीय सरकारले संघीयता कार्यान्यवनमा जोड दिनुपर्ने बताउनुभयाे ।
प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ता र शक्तिको भरमा मुलुक चलिरहेकाे बताउँदै सासंसद थानीले शक्ति र पहुँचको भरमा सारिएका कार्यालयको विरोध जनाउँदै विमानस्थल सार्ने नीति कार्यान्वयन हुन नसक्नेमा जाेड दिनुभयाे। कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता यामलाल कँडेलले निजी क्षेत्रलाई उत्पादनमुखी बनाउँदै अगाडि बढेमा प्रदेशकाे विकासमा टेवा पुग्ने बताउनुभयाे । यसैगरी उहाँले सेवामुखी व्यवसाय भन्दा पनि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयाे।
कर्णाली एक्साेमा खानाका परिकारहरु, कृषि र घरेलु वस्तुहरुको छुट्टै स्टल राखिएको छ। महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्म गर्न सकिने आयोजक सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ।
