होमपेज / समाज
अछाम । सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको रामारोसन गाउँपालिकामा युएसएड जल, जंगल परियोजना अन्तर्गत एक दिने प्राकृतिक श्रोत व्यवस्थापनमा महिला तथा जोखिममा रहेका समुदायहरूको मुद्दाहरू सम्बोधन गर्न बहुसरोकारवालाहरूसँग संवाद कार्यक्रम सम्पन्न भएको छ ।
उक्त संवाद कार्यक्रममा जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुँच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगायतका विषयमा छलफल भएकाे थियाे ।
कार्यक्रममा रामारोसन गाउँपालिकाका अध्यक्ष मानबहादुर सावदले आगामी दिनमा यस पालिका युएसएड जल जंगल परियोजनासँग आवश्यक समन्वय गरेर जैविक संरक्षणको कार्य गर्न तयार रहेको बताउनुभयो । यसै गरी गाउँपालिकाका उपाध्यक्ष श्रृजना बुढाले आफ्नो पालिका प्राकृतिक रुपले अछाम जिल्लाकै धनी पालिका रहेकाले यस पालिका अन्तर्गत धेरै सिमसारहरु रहेकाे हुनाले यसलाई थप संरक्षण गर्दै, यसको उचित सदुयोगका लागि आम समुदाय र सम्बन्धित सरोकारवालाहरुले आवश्यक हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रभुनाथ देवकोटाले यस पालिकाभित्र जल, जंगल र प्राकृतिक स्रोत व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिए पनि वातावरण संसक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी सामुदायिक वनका महिला सहभागीहरुले आगामी दिनमा सामुदिक वनमा जंगल प्राणीजातीको जीवन भएकाले प्राकृतिक स्रोतसाधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताएका थिए । उनीहरुले प्राकृतिक स्रोतमा ह्रास आउँदा सबैभन्दा धेरै मारमा महिला, दलित, जनजाति र सिमान्तकृत वर्गहरु पर्ने हुँदा समाजको समुन्नतिका लागि पनि जल जंगलको संरक्षण र व्यवस्थापन अपरिहार्य भएकोमा जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित सव डिविजन वन कार्यलयका अनुसार यस गाउँपालिका अन्तरगत रहेका कुल ५२ सामुदायिक वनहरुमा आफूहरुले स्थानीय तहसँगको सहकार्यमा जल, जंगल र वातावरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई उद्यमशीलता र क्षमता अभिवृद्धिमा सघाउन आग्रह गर्दै आफूहरु रचनात्मक काम गर्न आतुर रहेको बताउनुभयो ।
कार्यक्रममा युएसएड जल जंगल परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाहीले युएसएड जल जंगल आयोजनाको संक्षित्त परिचय सहित आगामी दिनमा गर्न सकिने सहकार्य एवम् समन्वयको बारेमा सहभागीहरुलाई प्रकाश पार्नु भएको थियो । कार्यक्रममा युएसएड जल जंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सारदा शेर्पाले युएसएड जल जंगलले गर्ने हरेक क्रियाकलापहरुमा महिला दलित तथा अन्य सिमान्तकृत वर्गहरुको समानुपातिक पहुँच, नियन्त्रण, लाभ बाँडफाडको सुनिश्चितलाई हुने गरी क्रियाकलापहरु संचालन गरिने बताउनुभयो ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई ध्यानमा राखेर चार वटा समुहमा छलफल गरिएको थियो । सहभागीहरुकले यस पालिकामा रहको मुख्य १० वटा सवालहरु पहिचान गरेर प्रस्तुत गरेका थिए ।