होमपेज / समाज
काठमाडौं । देशभर रिक्त २६ जनप्रतिनिधि पदपूर्तिका लागि निर्वाचन आयोगले सरकारसँग वैशाखमा उपनिर्वाचन गर्ने भनिसकेको छ । तर पनि सरकारले चासाे नदेखाएको भन्दै आयोगले फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजेको छ ।
उपनिर्वाचनका लागि सरकारको तत्परता चाहिन्छ । सरकारकै स्रोतसाधन, सुरक्षा आवश्यक पर्ने भएकाले सरकारको भूमिका महत्वपूर्ण छ, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ जनप्रतिनिधिको पद खालि छ । नगर प्रमुख १ जना, गाउँपालिका अध्यक्ष १ जना, गाउँपालिका उपाध्यक्ष २ जना र २० जना वडा अध्यक्षको पद खालि छ ।
२०७९ मंसिर ४ मा इलाम–२ प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत १५ भदौमा निधन भएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशसभामा बझाङ (१) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा गत ५ असारमा निधन भएको थियो ।
निर्वाचन आयोगले वैशाखमा उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारी त सुरु गरिसकेको छ । तर निर्वाचन घोषणा भएपछि पनि १२० दिनको समय तयारीका लागि चाहिने भएकाले अब सरकारले मिति घोषणामा ढिलाइ गर्न नहुने आयोगका अधिकारीहरु बताउँछन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै पद भए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।चुनाव घोषणा भने निर्वाचन आयोगको परामर्शमा सरकारले गर्ने कानुनी व्यवस्था छ ।