होमपेज / समाज
काभ्रे । प्रेस चौतारी काभ्रेले बाल गृहमा आफ्नो २६ औं स्थापना दिवस धुलिखेल नगरपालिका–३ स्थित हेल्प नेपाल नेटवर्कद्धारा सञ्चालित बाल गृहमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्दै स्थापना दिवस मनाइएको छ ।
कार्यक्रममा पुर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले श्रमजीवि पत्रकारहरुको संगठनका रुपमा रहेको प्रेस चौतारीले गलत काममा खबरदारी र राम्रो कामको उजागर गर्ने उदेश्यले सुरुवात भएको बताएका छन । उनले बालबालिकालाई देशको भविष्यको रुपमा व्याख्या गर्दै बालगृहमा रहेका देशका भविष्यको हेरचाह र लालनपालनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
सुनौलो पुस्ताको पढाई लेखाईका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने पनि बास्कोटाले जनाए । देशका विभिन्न स्थानमा रहेका अभिभावक विहिन बालबालिकाको लागि हेल्प नेपालले सहयोग गरेकोमा समेत उनले आभार व्यक्त गरेका छन । उनले असल कार्यको निरन्तरताका लागि हेल्प नेपाललाई आग्रह गरेका छन । बालगृहले अवसरबाट बञ्चित बालिकाहरुलाई सीप, ज्ञान सिकाएर भविष्य देखाउने कार्य गरिरहेको भन्दै प्रसंसा गरे । प्रेस चैतारी नेपालले रचनात्मक कार्य गर्दै आइरहेको उनको भनाई थियो ।
प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग पुग्ने विश्वासका साथ शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताएका छन । बाल गृहलाई सहयोग गर्न आफुहरु पनि तत्पर रहेको संकेतका रुपमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको उनको भनाई थियो । कार्यक्रममा हेल्प नेपाल धुलिखेलका पुर्ण कार्कीले बाल गृहमा ९ जिल्लाका २३ जना बालिका रहेको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल, उप–सचिव राजकुमार सापकोटा, प्रचार विभाग काभ्रेका पुर्व प्रमुख रिता ढकाल, प्रेस चौतारी काभ्रेका पुर्व अध्यक्ष दयाराम महत, धुलिखेल नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गणेश आचार्य, पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने, विनर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, हेल्प नेपाल धुलिखेलकी पुण्यवती घले, पत्रकार महासंघका कार्य समिति सदस्य, प्रेस चतौतारीका पदाधिकारी एवं सदस्यको उपस्थिती रहेको थियो ।