होमपेज / समाज
काठमाडौं । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको छ। अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।
साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ । साथै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटी भएको प्रमाण बुझाउनु पर्ने छ ।
युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।
अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी प्रेमप्रसाद दाहालले भिजिट भिसाको नाममा ठगी हुने, नक्कली कागजात बनाएर विदेश जाने र उतै लुक्ने क्रम बढेपछि नयाँ नियम लागू गरिएको जानकारी दिए । यसबाट भिजिट भिसाको नाममा हुँदै आएको विकृति रोकिने विभागको विश्वास छ ।
यसअघि अध्यागमन ऐन २०४९, नियमावली र निर्देशिकामा भिजिट भिसा के हो भन्ने स्पष्ट छैन । त्यहाँ पर्यटक भिसाको कुरा मात्र छ । त्यसैले २०७८ सालमा सचिवस्तरीय निर्णयबाट भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड जारी गरेर स्पष्ट पार्ने प्रयास गरिएको थियो । ‘१७ बुँदे लागू भएपछि झन् धेरै विकृतिहरु देखिन थाले,’ निर्देशक दाहालले भने, ‘नक्कली कागजात बनाएर विदेश जाने, ठगिने, विदेश गएर उतै लुक्ने, दुःख पाउने जस्ता काम विकृतिहरु देखिएपछि १७ बुँदेलाई खारेज गरेर अहिले ६ बुँदे नियम ल्याइएको हो ।’
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)