होमपेज / समाज
काठमाडौं । काठमाडौंकाे न्युरोड क्षेत्रमा महानगरपालिकाले सडकमा पार्किङ गर्न रोक लगाउने निर्णय गरेपछि व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले सटर बन्द गरेर वडा कार्यालयमा पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आजदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।
यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् । यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले यस अघि नै दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरु त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।