होमपेज / समाज
सुर्खेत । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गर्नुका साथै भवन उद्घाटन गर्नुभएकाे छ ।
पूर्व प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (MUSOM) र कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थान (KIIKST) को भवनको समुद्घाटन गर्नुभएको हो । त्यसै गरी उहाँले Mission To Digital Mid-West University अन्तरगत Mid-West University Digitalization and Automation System (MU-DAS) को डिजिटल समुद्घाटन गर्नुभएको थियो भने ‘विद्यार्थीसँग केपी शर्मा ओली’ विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुभएकाे थियाे ।
मुसोम तथा कीक्स्ट भवन उद्घाटन लगत्तै पूर्व प्रधानमन्त्री ओली र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह सम्मिलित संयुक्त टोलीद्वारा मुसोमका कक्षा कोठा, लाइब्रेरी र इन्कुबेसन सेन्टर तथा कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलीक्युलर एण्ड जिनोमिक ल्याबको अवलोकन भ्रमण गर्नु भएको थियो ।
त्यस्तै ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, ग्र्याजुएट स्कुल अफ एजुकेशन, ग्र्याजुएट स्कुल अफ ह्युमयानिटिज एण्ड सोसल साइन्स र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टको अवलोकन भ्रमण पश्चात कुइनेपानी स्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको अवलोकन भ्रमण सम्पन्न भएको थियो ।
अवलोकन भ्रमण पश्चात, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी स्थित सभा हलमा Mid-West University Digitalization and Automation System (MU-DAS) को उद्घाटन तथा ‘विद्यार्थीसँग केपि शर्मा ओली’ विषयक अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशीज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । MU-DAS का कन्सल्टेन्ट डेभलपर डा. संविधान आचार्यले प्रस्तुतीकरण गरेपश्चात कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्प्युटरमा क्लिक गरी MU-DAS को डिजिटल उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्र पश्चात मध्यपश्चिम विश्वविद्यालयको विगत र वर्तमान दर्शाउने ‘मध्यपश्चिम विश्वविद्यालय रूपान्तरण वृतचित्र (Mid-West University Transformation Documentary) प्रस्तुत गरिएको थियो ।
‘विद्यार्थीसँग केपि शर्मा ओली’ विषयक अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरुले आ-आफ्ना जिज्ञासा तथा प्रश्नहरु राखेका थिए जसकाे जवाफ पूर्व प्रधानमन्त्री ओलीज्यूले दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले गरेको प्रगति र सकारात्मक कार्यहरु देख्दा आफु अत्यन्तै खुसी भएको कुरा व्यक्त गर्नु भएको थियो । विश्वविद्यालयले गरेको भौतिक, शैक्षिक र सूचना प्रविधि सम्बन्धी प्रगतिले यो क्षेत्र मात्र नभई देशकै एक नमुना विश्वविद्यालयको रुपमा रहेको कुरा व्यक्त गर्नु भएको थियो । अन्तक्रिया कार्यक्रम पश्चात मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले धन्यवाद ज्ञापन मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम समापनको क्रममा बोल्नु हुदैं कार्यक्रमका अध्यक्ष एवं उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मध्यपश्चिम विश्वविद्यालय भ्रमण र उपस्थितिले सिंगो मध्यपश्चिम विश्वविद्यालय परिवार अत्यन्तै उत्साहित र विश्वविद्यालय निमार्णमा एकजुट हुन थप प्रेरणा मिलेको कुरा उल्लेख गर्दै उहाँ प्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहज्यूको अध्यक्षतामा सम्पन्न उक्त छुट्टाछुट्टै कार्यक्रमहरुमा विश्वविद्यालयका पदाधिकारीहरु, पूर्व प्रधानमन्त्री ओलीका प्रमुख सचिव राजेश बज्राचार्य, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी लगायत शिक्षाप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।