होमपेज / समाज
कैलाली । सुदूरपश्चिम प्रदेश धनगढीको मुख्य सडक कालोपत्रेमा कम गुणस्तरकाे काम भएको पाइएको छ । कैलाली पुलदेखि चौराहसम्मको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रालिले पहिलो चरणमा मुख्यमन्त्री कार्यालय क्षेत्रमा गरेको कालोपत्रे गुणस्तरहिन भएकाे पाइएकाे छ।
क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका इन्जिनियर सौरभ कलौनीले मुख्यमन्त्री कार्यालयदेखि कैलाली पुलसम्म एकतर्फी कालोपत्रे गरिएकोमा २८० मिटर क्षेत्रमा कम्प्याक्सन राम्रोसँग नभएको अर्थात् माथिल्लो तहमा लुज गिट्टी देखिएको पाइएपछि सुधार गर्न पत्राचार गरिएको जानकारी दिए ।
उनकाअनुसार क्षेत्रीय विकास आयोजनामार्फत बनिरहेका सडकको प्राविधिक तथा गुणस्तर मूल्यांकनको जिम्मा पाएको परामर्शदाता विल्डिङ डेभलवमेन्ट अथोरिटि (बिडिए)मार्फत निर्माण व्यवसायीलाई सो क्षेत्रमा पुनः मापदण्डअनुसारको कालोपत्रे गर्न निर्देशन दिइएको छ ।
इन्जिनियर कलौनीकाअनुसार कालोपत्रे गर्ने क्रममा कमसल काम भएको क्षेत्रमा अब निर्माण व्यवसायीले आफ्नै लगानीमा पुनः कालोपत्रे गर्नुपर्नेछ । कालिका कन्स्ट्रक्सनका धनगढी प्रतिनिधि विकटेसराज मण्डलले कालोपत्रे गर्ने क्रममा केही ठाउँमा समान्य प्राविधिकका कारण त्रुटी देखिएकाले मर्मत सम्भार गरिने बताए ।
‘कालोपत्रे गर्ने क्रममा केही ठाउँमा ठूलो गिट्टीमाथि रहेका कारण समस्या देखिएको हो । त्यस्तो भएको ठाउँमा हामीले मार्किङ गरिसकेका छौं,’ मण्डलले भने, ‘अर्कोतर्फ कालोपत्रे गर्ने क्रममा बिग्रिएको ठाउँमा सुधार गछौँ ।’
कालिका कन्स्ट्रक्सन प्रालिले मुख्य सडकको कैलालीपुलदेखि ट्राफिक चौराहसम्मको मुख्य सडकसहित एसियाली विकास बैँकको अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनामार्फत बनिरहेका उपमहानगरपालिका क्षेत्रका ८ वटा सडक निर्माणको ठेक्का पाएको छ ।