होमपेज / समाज
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम नामावली प्रकाशन गरिसकेको जनाएको छ। आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेश सभाका मतदाता ५४९ रहेका छन् । यसैगरी स्थानीय तहका मतदाता एक हजार ४ सय ९८ रहेका छन् । जसमा प्रदेश सभामा र स्थानीय तह दुबै तर्फ गरेर २०४७ मतदाताको जम्मा मतभार ५७ हजार ५५९ रहेको निर्वाच्न आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।
आयोगका अनुसार प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता रहेका छन् ।
कोशी प्रदेश सभा सदस्यको मतभार ४ हजार ९ सय २९ रहेकाे छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख गरी ५ हजार २ सय ६ मतभार रहेकाे छ । कोशी प्रदेशमा कुल १० हजार १ सय ३५ मतभार कायम हुने छ ।
त्यस्तै मधेश प्रदेशमा प्रदेश सभा सदस्यको १०७, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख २ सय ६७ गरी जम्मा ३ सय ७४ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्यको मतभार ५ हजार ६ सय ७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको ५ हजार ७३ गरी जम्मा १० हजार ७ सय ४४ मतभार कायम हुनेछ । बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ १ सय १० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २ सय ३७ गरी जम्मा ३ सय ४७ जना मतदाता कायम भएका छन् ।
बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ८ सय ३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४ हजार ५ सय ३ गरी जम्मा १० हजार ३ सय ३३ मतभार कायम हुनेछ ।
गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता १ सय ७० गरी जम्मा २ सय ३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३ हजार १ सय ८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार ३ हजार २ सय ३० गरी जम्मा ६ हजार ४ सय १० मतभार कायम हुनेछ ।
यस्चै लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता कायम भएका छन् ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ६ सय ११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४ हजार १ सप ४२ गरी जम्मा ८ हजार ७ सय ५३ मतभार कायम हुने आयोगले जनाएको छ ।
कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ सय ५६ जना छन् । प्रदेश सभाको मतभार २ हजार १ सय २० र पालिकाको २ हजार ९ सय ६४ गरी कर्णालीमा जम्मा मतभार ५ हजार ८४ हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १ सय ७६ गरी जम्मा २ सय २८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेश सभा सदस्यको २ हजार ७ सय ५६ र पालिकाका ३ हजार ३ सय ४४ गरी जम्मा ६ हजार १ सय मतभार कायम रहेको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गतेका लागि तय भएको छ । त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।