होमपेज / समाज
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।
कानून अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न पाउने प्रावधान रहेकाे छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।
१८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ति करणी गर्दा ३ (ङ) को व्यवस्था आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ । सन्दिपलाई सजाय निर्धारणका लागि भने २५ गते अर्को पेशी तोकिएको छ ।
सन्दीपले यो फैसलाको विरुद्धमा उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । फैसलाको पूर्णपाठ आएपछि सन्दीपले पुनरावेदनको मौका पाउँछन् । पूर्णपाठ आएको ७० दिनभित्र पुनरावेदन गर्न सक्ने कानूनी प्रावधान रहेकाे छ ।
२५ गतेकाे पेशीमा सजाय निर्धारण गरेपछि फैसलाकाे पूर्णपाठ तयार गरिन्छ । उक्त पूर्णपाठ सन्दीपले बुझेकाे ७० दिनभित्र पुनरावेदन गर्न सक्छन् । पुनरावेदन गरेपछि त्यसको फैसला नआउञ्जेल उनी जेल जानु पर्दैन ।
उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेमा जिल्लाको फैसला स्वतः बदर हुन्छ ।