होमपेज / समाज
हुम्ला । हुम्लाका स्याउ जिल्ला बाहिर पठाउन शुरु गरिएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले ढुवानी अनुदानमा स्थानीय स्याउ हवाई मार्ग भएर जिल्ला बाहिर निकासी गर्न शुरु गरेको हो ।सिमकोट गाउँपालिकाका किसान गोरसिंह बोहराले फर्ममा उत्पादन भएका स्याउ नेपालगञ्ज हुँदै काठमाडौं ढुवानी सुरु गरेको जानकारी दिए ।
त्यसैगरी सिमकोट गाउँपालिका वडा नम्वर ३ का किसान कार्बु लामाले पनि एक हजार तीन सय केजी स्याउ जिल्लाबाहिर पठाउने तयारी गरेको बताए । उनलेपनि एक दुई दिनमा स्याउ हवाई मार्गबाट पठाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (स्याउजोन) कार्यालय प्रमुख लक्ष्मी अधिकारीले यस वर्ष पहिलो पटक ७५ प्रतिशत ढुवानी अनुदानमा २० टन स्याउ जिल्लाबाहिर निकासी सुरु भएको जानकारी दिए । सिमकोटबाट नेपालगञ्जको ढुवानी दर प्रतिकेजी साठी रुपैयाँ पर्छ । त्यसमा ४५ रुपैयाँ परियोजनाले अनुदान दिने र १५ प्रतिकेजी रुपैयाँ किसान आफैले ढुवानी तिर्नुपर्छ ।