होमपेज / समाज
काठमाडाैं | काठमाडौंका मुख्य पाँच वटा ठाउँमा आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार जारी गरिएकाे सूचनामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर, सिंहदरबारकाे निषेधित क्षेत्र, उपराष्ट्रपति कार्यालय र माइती घर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्मकाे क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरिएकाे हाे ।
राष्ट्रपति कार्यालयकाे पूर्वतर्फ पुरानो पवित्र वर्कशप चौक, पश्चिमतर्फ सामाखुसी निस्कने नाला, उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै प्रधानमन्त्री निवास, बालुवाटारमा पुरानो पवित्र वर्कसप चौकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको हो ।
‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ वटा क्षेत्रलाई आगामी २ महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको छ,’ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।
यी क्षेत्रमा २ महिनासम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख गरिएकाे छ ।