होमपेज / समाज
सुर्खेत । सुर्खेतका एक ९ वर्षीय बालकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पेट पाल्न हामीले विदेशिनु नपरोस् भनी पत्र लेखेका छन्। गुर्भाकोट नगरपालिका–१० भेडाबारीका ९ वर्षीय बालक किशोर पौडेलले आफूलाई यात्राकै क्रममा सानो पत्र हातमा दिएको अध्यक्ष ओलीले बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् ती बालकले दिएको पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा बालकले आफूजस्ता बालकहरू युवा अवस्थामा पुग्दा पेट पाल्नकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन्। ‘म र मजस्ता बालकहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु,’ बालकले लेखेको पत्रमा उल्लेख छ।
मध्यपहाडी लोकमार्गमा निर्माण भइरहेकाे भेरी बबई डाइभर्सन लगायतका काम काेही पनि विदेशिनु नपराेस् भन्नका लागि भएको अध्यक्ष ओलीले बताएका छन्। ‘हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,’ ओलीले भनेका छन्, ‘सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’