होमपेज / समाज
काठमाडौं । हिजाेराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी घाइते भएकाहरुको उद्धारमा परिचालित हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्तिलाई आह्वान गर्नुभएको छ । घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दै विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरु परिचालित हुन उहाँले निर्देशन दिनुभएको हो ।
भूकम्पमा ज्यान गुमाउनु भएकाहरुप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकको यस घडीमा पार्टीको तर्फबाट आयोजना हुने शुभकामना आदानप्रदान तथा उत्सवसम्बन्धी सबै कार्यक्रम स्थगित गर्न उहाँले आग्रह गर्नुभएको छ । यसैगरी महासचिव शंकर पोखरेलले भूकम्पबाट पीडितहरुको जीवनरक्षाका लागि यथाशीघ्र उद्धार, उपचारमा जुट्न सरकारको ध्यानाकर्षण गराउँदै पार्टी पङ्तिलाई राहत, उद्धार र रक्त संकलनमा जुटन आग्रह गर्नुभएको छ ।
एमाले नेता तथा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न, राहत उपलब्ध गराउन तथा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
