होमपेज / समाज
काठमाडाैं | अतिक्रमणको चपेटामा परेको पोखराको फिर्केखोला मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी/अस्थायी सबै संरचना ३५ दिनभित्र हटाउन महानगरले निर्देशन दिएको हो ।
तोकिएको मितिभित्र संरचनाहरू नहटाए महानग आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरले जनाएको छ । ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’
महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो ।
यसअघि महानगरले गठन गरेको फिर्के खोला सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेश गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्केखोला नै हराउने र प्राकृतिक विपत्ति तिम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
पोखरा महानगरले गठन गरेको सिमांकन टोलीले फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएको प्रतिवेदन पेश गरेको थियो ।