ट्रेण्डिङ

होमपेज / समाज

‘डिजिटल मिडिया सोसाइटी’ काे अध्यक्षमा प्रतीक प्रधान

नेपालगाथा २०८० आश्विन ३० गते मंगलबार २०:५५:३४ मा प्रकाशित

काठमाडौं । नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै स्थापित डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ । 

बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट कम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको अध्यक्षतामा गठित डिजिटल मिडिया सोसाइटीको उपाध्यक्षमा सेटोपाटी सञ्चार प्रालि (सेटोपाटी डट कम)का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डट कम)का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू) डट कमका अध्यक्ष पुष्प दुलाल रहेका छन् ।

डिजिटल मिडिया सोसाइटीका कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्रालि (विकास न्यूज डट कम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डट कम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देश सञ्चार डट कम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डट कम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डट कम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्यूज नेटवर्क प्रालि (राटोपाटी डट  कम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डट कम)का सञ्चालक सुरेश सिम्खडा रहेका छन् ।

संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डट कम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्यूज नेटवर्क प्रालि (रातोपाटी डट कम )का संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकारमा चयन गरेको छ ।

२०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता नं. ३२२०८३ को प्रमाण पत्र प्राप्त गरेको संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको छ ।

डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बर्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन् ।

सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् । 

साथै, आबद्ध संस्थाका सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ । नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुनेछन् । 

संस्थाको विधानका शर्तहरू पूरा गर्ने संस्थाहरूलाई डिजिटल मिडिया सोसाइटीको सदस्य बन्न आवेदन खुला राखिएको पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top