होमपेज / समाज
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले यही असोज २२ र २३ गते पीएचडी फेस्टिभल गर्ने भएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिने फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुती दिने डीन प्रा.डा.विनिल अर्यालले जानकारी दिए ।
संस्थानले पछिल्लो पाँच वर्षमा मात्रै महत्वपूर्ण अनुसन्धानमुलक लेखहरु प्रकाशन गरेको जनाएको छ । करिब तीन हजार त साइटेसन नै रहेको डीन प्रा.डा.अर्यालको दाबी छ । फेस्टिभलमा सबैले एक अर्काको कुराहरु सुन्न सुनाउन पाउने भएकाले एक अर्काबीच सहकार्य गर्ने वातावरण बनाउने उनको भनाई छ ।
संस्थानको १२ वटा प्राणीशास्त्र, वनस्पति विज्ञान, फुड टेक्नोलोजी लगायतका केन्द्रीय विभागमा ४५६ जना पीएचडी अध्ययनरत सबैले २२ र २३ गते ‘पोस्टर प्रेजेन्ट’ गर्ने संस्थानले जनाएको छ । फेस्टिभलमा अरु विश्वविद्यालयका शोधकर्ताहरु पनि सहभागी हुने संस्थानले जनाएको छ ।
त्रिविको अहिले विभिन्न शैक्षिक कार्यक्रममा पीएचडी गरिरहेका ८१३ जना मध्ये ४५६ जना विज्ञान तथा प्रविधि अध्ययन संस्थानको शोधकर्ता र १७३ जना पर्यवेक्षक रहेको डीन कार्यालयले जनाएको छ । सन् १९७० बाट पीएचडी शुरु गरेको संस्थानले अहिलेसम्म २६२ जनालाई पीएचडी अवार्ड गरिसकेको जनाएको छ ।