होमपेज / समाज
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो करिब २ हप्तामा ६ सय जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
काठमाडौँमा १२ दिनअघि १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता नपुग्दै ६ सय जना थपिएर सङ्क्रमितकाे संख्या ७२१ पुगेकाे छ। विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ । काठमाडौँमा यसअघि सङ्क्रमण दर धरानमाझैँ उच्च नभए पनि अब कात्तिक मसान्तसम्म जोखिम उच्च रहेको तथा पुससम्मै फाट्टफुट्ट डेंगु सार्ने लामखुट्टे देखिइरहने उनले बताए ।
गएको आठ महिनायता ३४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडालाई केलाउँदा प्रत्येक दिन २०० नयाँ सङ्क्रमित थपिरहँदा २० जनाको ज्यान गएको ईडीसीडीले जनाएको छ ।
डेंगु केश हाल ७६ जिल्लामा पुष्टि भइसकेको छ । नेपालमा डेंगुले थप तीन महिनासम्म सम्म सताउने भएकाले सजग रहन विज्ञहरूले सुझाएका छन् ।
धेरै सङ्क्रमित तीन जिल्ला
७७ जिल्लामध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित छन् । त्यसपछि दोस्रोमा धादिङ जिल्ला र तेस्रोमा तनहुँ जिल्ला रहेको छ । ईडीसीडीका अनुसार आँकडाअनुसार सुनसरीमा हालसम्म १६ हजार ६७ जनामा केश पुष्टि भएको छ । धादिङमा ३ हजार ११४ जना हालसम्म सङ्क्रमित भएका छन् भने तनहुँमा ३ हजार ११२ केस पुष्टि भएको छ ।