ट्रेण्डिङ

होमपेज / समाज

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई

याे पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुनुहुन्छ

नेपालगाथा २०८० आश्विन ५ गते शुक्रबार १८:४१:०६ मा प्रकाशित

काठमाडौं । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैया रहेको छ ।

करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आउनुभएका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन र उहाँको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

२०५२ साल देखि विभिन्न मिडियामा काम गर्दै आउनु भएक निर्मला शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता हुनुहुन्छ । शर्मासँग बिगत २८ वर्षदेखि निरन्तर रुपमा विभिन्न सन्चार माध्यममा रिपोर्टर हुदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उहाँले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रीय दैनिक पत्रिकाको रिपोटर, रेडियो नेपाल र रेडियो नेपालको घटना र बिचार कार्यक्रमको रिपोटर, त्यस्तै गरी सारथी साप्ताहिक, रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गर्नुभएको थियो ।

कान्तिपुर एफएम र उज्यालो एफएफमा पनि दुई वर्ष साप्ताहिक रुपमा कार्यक्रम चलाउनुभएका शर्माले पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिकको संवाददाता भएर केही वर्ष काम गर्नुभएको थियो ।

हाल उहाँ खोज पत्रकारिता केन्द्रको उपाध्याय, दक्षिण एशियाली पत्रकार महिला सन्जाल (स्वाम) नेपालको अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्लाहहकार पनि हुनुहुन्छ ।

महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरुको संख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिका लागि पनि काम गरेको अनुभव छ। उहाँ महिला खबर डट कम को सस्थापक अध्यक्ष हुनुहुन्छ। २०६२ र ६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतंत्रताको लागि पत्रकार महासंघको केन्द्रीय सदय्य र दक्षिण एसियाली पत्रकार संगठनको महासचिवको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । साथै उहाँले विभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनमा समसामयिक विषयमा लेख लेख्दै आउनु भएको छ ।

काउन्सिलले विसं. २०५७ सालमा पहिलो पल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यस अघि काउन्सिलका संस्थापक समेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गर्नुभएको थियो । प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुनुहुन्छ ।

प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिवार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ । सोही दिन यो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहिता सहितका पुरस्कार समेत प्रदान गरिनेछ । साथै, पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउनुहुने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top