ट्रेण्डिङ

होमपेज / समाज

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति

आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता

नेपालगाथा २०८० भाद्र ३१ गते आइतबार २२:५९:०३ मा प्रकाशित

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएसँगै संघले सार्वजनिक गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्। सहमतिमा उक्त घटनामा संलग्नलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने, घटनामा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई पक्राउ गर्ने लगायत उल्लेख छन्।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो। उक्त कार्यकाे विरोधमा स‌ंघले देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो। घटनामा संलग्न ४ जना यसअघि नै पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी भएको छ।

यस्ता छ ६ बुँदे सहमतिमा
१. २०८०/०५/२७ गतेका दिन सन्यो अस्पताल, हेटौंडामा ड्युटीमा रहेका चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त बिडारी माथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालय मार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पूर्जी जारी भएका ५ जना सहित अन्य दोषीहरुलाई सोही ऐन बमोजिम कार्बाही प्रक्रिया अगाडि बढाउने।

२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने ।

३. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति" लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने।

४. “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) कार्यान्वयनका लागि सरोकारवालाहरुलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मनन गरी सोही अनुरुप सचेतनामुलक कार्यक्रमहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघसंगको सहकार्यमा यसै आर्थिक वर्षदेखि संचालन गर्ने।

५. चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने।

६. स्वास्थ्य जस्तो अत्यावश्यक सेवालाई मर्यादित संवेदनशील बनाई सेवा प्रति प्रतिबद्ध रहदै २०८० भाद्र ३१ गते आइतवार नेपाल चिकित्सक संघको अगुवाईमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरु बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top