ट्रेण्डिङ

होमपेज / समाज

अब कर्णालीका जनताले सुर्खेतमै एमआरआई सेवा पाउने

दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने

नेपालगाथा २०८० भाद्र ३० गते शनिबार ०८:०८:२९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले एमआरआई सेवाकाे सुरु गरेपछि यहाँका जनताले सुर्खेतमा नै याे सुविधा पाउने भएका छन् । गत शुक्रबारदेखि एमआरआई सेवा सुरु गर्दै प्रदेश अस्पताल सुर्खेतले कर्णाली प्रदेशमै पहिलो पटक याे सुविधा दिन थालेकाे प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए । उनका अनुसार नेपालकै उत्कृष्ट मेसिनबाट एमआरआई सेवा सुरु गरिएको हो ।

उनका अनुसार करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरिएपछि शुक्रबारदेखि एमआरआई सेवा सुचारु भएको छ । निर्देशक खड्काका अनुसार सुर्खेतमै एमआरआई सेवा सुरू भएपछि अब कर्णालीका नागरिकलाई उपचारका लागि बाह्य जिल्ला धाउनुपर्र्ने बाध्यता अन्त्य भएको छ । उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको हो ।

नेपालकै सबै भन्दा बढी क्षमताको उक्त मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने छ । सुर्खेतमै आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडान भएपछि कर्णालीका नागरिक पनि खुसी भएका छन् । एमआरआई मेसिन खरिदको लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई बजेट उलब्ध गराएको हो । उक्त मेसीन नेपाली रुपैंयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भई परिक्षणमा आएको हो ।

अस्पतालका निर्देशक खड्काका अनुसार स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन, ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन एमआरआई प्रयोग गर्ने गरिन्छ ।

मस्तिष्क र मेरुदण्डको ट्युमर लगाएतका सबै रोग परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने सकिने अस्पताल स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top