होमपेज / समाज
रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै विजयी भएका हुन् । विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । यसैगरी रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याएका छन् । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित हुँदा उहाँसँग प्रतिस्पर्धा गरेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका छन् ।
महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छिन् । यसैगरी बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका छन् । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरे । मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।