होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पुस्तौ पुस्ताका लागि पुस्तकालय भन्ने मूल नाराका साथ सौह्रौँ पुस्तकालय दिवस शुक्रबार वीरेन्द्रनगरमा मनाएको छ । कार्यक्रमलाइ सम्वाेधन गर्दै उपकुलपति प्राडा नन्दबहादुर सिंहले पुस्तकालय गएर ज्ञानको दायरालाई फराकिलो गर्नका लागि सबैलाई आह्वान गर्नुभयो ।
उपकुलपति प्राडा सिंहले अबको विश्वविद्यालयको उद्देश्य भनेको शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने भएकाले नयाँ पाठ्यक्रम अनुसार सबै प्राध्यापक र डिनहरुले सबै कुराको व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले मप विश्वविद्यालय दक्षिण एशीयाको पहिलो डिजिटल विश्वविद्यालय घोषणा भइसकेको सन्दर्भमा अब विश्वविद्यालय पेपरलेसको अवधारणामा अघि बढेको बताउनुभयो ।
.jpg)
संसारभर भौतिक र डिजिटल गरी दुई प्रकारको पुस्तकालय हुने गरेको बताउँदै उपकुलपति प्राडा सिंहले मध्यपश्चिम विश्वविद्यालयले अब छिट्टै नै क्युआर कोडका माध्यमबाट पुस्तक अध्ययन गर्न पाइने व्यवस्था गरिन लागेको जानकारी दिनुभयो ।
विश्वविद्यालयले कर्णाली प्रदेशका वासिन्दाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अब छिट्टै नै २४सै घण्टा खुला हुने गरी आवासीय पुस्तकालयको कल्पना सहित नयाँ भवन निर्माणको थालनी गरिन लागेको समेत उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण पौडेलले पुस्तकालयले विश्वविद्यालयले जिवन्त बनाउन मद्दत गर्ने भएकाले पुस्तकालयलाई अत्याधुनिक बनाउन लागिएको बताउनुभयो । प्राध्यापक र विद्यार्थीले पुस्तकालयमा गएर अध्ययन गर्ने बानीलाई बढाउनुपर्ने बताउँदै रजिष्ट्रार प्राडा पौडेलले पुस्तकालय बनाउनका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
.jpg)
मप विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत संग्राम चौधरीेले पुस्तकालय भनेको कुनै पनि सूचना र ज्ञानको स्रोत भएको बताउनुभयो । उहाँले भौतिकका साथै डिजिटल पुस्तकालयको जमाना भएको हँदा अहिले मप विश्वविद्यालयले डिजिटल पुस्तकालयको अवधारणालाई अगाडि बढाइरहेको बताउनुभयो । केन्द्रीय पुस्तकालयमा हाल पुस्तक, थेसिस, टेक्टबुक सेक्सन, इ स्रोत, डिजिटल, अडियो र भिडियोका साथै हस्त लिखित पुस्तकहरु उपलब्ध भएको अधिकृत चौधरीले जानकारी दिनुभयाे ।
पुस्तकालयमा हाल करिब ३० हजार पुस्तक, करिब एक हजार थेसिस र एक हजार जति पत्रिकाहरू उपलब्ध छन् । साथै विद्यार्थी, शिक्षक र अन्य कर्मचारी गरेर करिब चार हजार सेवाग्राहीले केन्द्रीय पुस्तकालयबाट सेवा लगिरहेका छन् ।
कार्यक्रममा लाइब्रेरी इन्फरमेसन सिस्टमका बारेमा डा.संविधान आचार्यले मप विश्वविद्यालयको इलाइब्रेरीरीलाई कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा जानकारी दिनुभएको थियो ।
निवन्ध प्रतियोगिताको नतिजा
मध्यपश्चिम विश्वविद्यालयले सोह्रौँ पुस्तकालय दिवसको अवसरमा निवन्ध प्रतियोगिताको आयोजना गरेको थियो । ‘विश्वविद्यालयको रुपान्तरणमा पुस्तकालयको भूमिका’ विषयमा आयोजना गरिएको निवन्ध प्रतियोगितामा २४ जना विद्यार्थीले सहभागिता रहेका थिए । जसमा एउटा निवन्ध अग्रेजी भाषामा लेखिएको थियो भने २३ वटा निवन्ध नेपाली भाषामा लेखिएका थिए ।
उक्त निवन्ध प्रतियोगिताबाट विज्ञान संकायका अनुभव कँडेलले प्रथम स्थान हासिल गरे । यसैगरी व्यवस्थापन संकायका पुष्पा खड्काले द्वितीय स्थान प्राप्त गरे भने विशेष आवश्यकता शिक्षा संकायका लक्ष्मी भण्डारीले तृतीय स्थान हासिल गरिन् । यसैगरी विज्ञान संकाय सुमन शाही र कानुन संकायका महेन्द्र बुढाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।