ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा एक सय जना मध्ये २५ जनामा पुड्कोपना

नेपालगाथा २०८० श्रावण ३२ गते बिहीबार ०८:१६:१२ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना हुने गरेको छ। बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिने विज्ञहरुका बताउछन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए। 

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो। थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए।

उनले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने सुझाव दिए। थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताए। 

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार स्वास्थ्य चौकीमा आमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ। थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए। 

कर्णालीमा झन् समस्या

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ३६ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेका छन्। सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ वर्षमुनीका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको सराेकारवाला बताउछन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top