ट्रेण्डिङ

होमपेज / समाज

प्राडा. भट्टराई त्रिवि सेवा आयोगकाे अध्यक्षमा नियुक्त

नेपालगाथा २०८० श्रावण ३१ गते बुधबार १८:३८:०४ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्राडा. घनश्याम भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयकाे  इतिहास विभागका प्रमुख झापाका भट्टराईलाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका सहकुलपति अशोककुमार राई नेतृत्वको सिफारिस समितिले सेवा आयोग अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरेकोमा भट्टराईलाई नियुक्त गरिएको हो।

गत साउन २३ गते बसेको अध्यक्ष सिफारिस समिति बैठकले साउन २६ भित्र सेवा आयोग अध्यक्ष पदमा इच्छुकहरूबाट आवेदन माग गरेको थियो। कम्तीमा सहप्राध्यापक पदमा रहेर काम गरेकाहरूले आवेदन दिन सक्ने व्यवस्था थियो।

भट्टराईलाई तीन वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो। २०४४ सालमा त्रिवि सेवामा प्रवेश गरेका भट्टराईकाे अवकाश हुने समय छ महिना मात्रै बाँकी रहेको छ । यही बीचमा भट्टराईलाई सेवा आयोग अध्यक्ष बनाइएको हो।

सरकारले एक वर्षपछि त्रिवि सेवा आयोगकाे अध्यक्ष नियुक्त गरेको हो। तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको कार्यकाल २०७९ साउन १८ मा नै सकिएको थियो। अध्यक्ष पदका लागि गत वर्ष पनि आवेदन माग गरिएको थियो। त्यसबेला ३८ जनाले आवेदन दिएकाेमा कसैलाई पनि नियुक्ति दिइएको थिएन।

आयोगका अध्यक्ष एक वर्षसम्म रिक्त हुँदा त्रिविमा आवश्यक जनशक्ति छनौट तथा नियुक्ति हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top