होमपेज / समाज
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीकाे ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएकाे छ । सो परीक्षामा दुई विषयसम्म ननग्रेड ल्याएका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।
यस पटकको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा बोर्डले जनाएको छ । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार पाँच सय ८४ रहेको छ ।
कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।
नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको बोर्डले जनाएको छ ।