होमपेज / समाज
काठमाडौं । 'मदन पुरस्कार २०७९' का लागि शीर्ष पाँच पुस्तक छनाैटमा परेका छन् । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थांग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ समावेश भएका छन् । सूचीमा परेका शीर्ष पाँच पुस्तकमध्ये एक पुस्तकले 'मदन पुरस्कार २०७९' प्राप्त गर्नेछ । मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।
भट्टराईको ‘इजोरिया’ परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई मुख्य विषय बनाइएको यस उपन्यास तराई मधेशको परिवेशमा लेखिएको छ । युवाहरूका प्रेम, सम्बन्धमाथि लेखेर चर्चा पाएका भट्टराई ‘इजोरिया’मा भने सामाजिक विषयवस्तुलाई समेटेका छन् । उनको यस पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।
ओझाको ‘ऐँठन’ भने दुई दशक अघिको जनयुद्धलाई केन्द्रीय विषय बनाइएको उपन्यास हो । जनयुद्धको परिवेशमा आञ्चलिक भाषामा ओझाले पश्चिम नेपालको कथा पस्केका छन् । सांग्रिला बुक्सले बजारमा ल्याएको ओझाको ‘ऐँठन’ दोस्रो उपन्यास गो । उनको यसअघि ‘ऐलानी’ उपन्यास सार्वजनिक छ ।
त्यस्तै २०५२ देखि २०५५ सम्म जलस्रोत मन्त्रालयको सचिव रहेका ढुंगेल चर्चित महाकाली सन्धिको मस्यौदा तयार पार्नेदेखि सन्धिमा हस्ताक्षर हुँदासम्म भारतसँग भएका द्विपक्षीय संवादका एक प्रमुख सरकारी कर्मचारी थिए । ढुंगेलको यो संस्मरणात्मक कृति हो ।
राईको ‘थांग्रा’ उपन्यासमा भने दुई छोरी हुँदाहुँदै एक प्रसिद्ध लेखकले छोराको खोजीमा दोस्रो विवाह गर्न खोजेको विषयलाई मूल कथा बनाइएको छ । उपन्यासमा प्रगतिशील लेखकलाई केन्द्रीय पात्र बनाएर राईले पितृसत्तात्मक सोचको चिरफार गरेकी छन् । यस उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो । यसअघि राईको ‘लेखककी स्वास्नी’ चर्चित पुस्तक हो ।
दार्जिलिङका लेखक विष्टको ‘माटाका घर’ भने दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनबाट सृजित बेमेल परिस्थितिहरूलाई मुख्य विषय बनाएर लेखिएको आख्यान हो । यस पुस्तकमा लेखक स्वयंका आफ्नै संघर्षका कथाहरू पनि समावेश छन् ।