होमपेज / समाज
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी काण्डमा अनुसन्धान गर्न सरकारलाई समय दिनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष लामिछानेले सरकारले गलत तरिकाले अनुसन्धान भएको खण्डमा भने रास्वपाले त्यतिकै नछाड्ने चेतावनी दिए । रास्वपाले गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था भएको खण्डमा राजीनामा लिएरै छाड्ने उनले दाबी गरे । लामिछानेले विमानस्थलबाट नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आएको र धेरै पटक मानिसहरु पनि समातिने घटनाले सुन तस्करी सेटिङबाटै हुने कुरा प्रमाणित गरेको बताए ।
‘कसैको राजीनामा मागेपछि लिनुपर्छ, राजीनामा माग्ने कुरा बुझेर हेरेर थाहा पाइसकेपछि गर्ने कुरा हो, भर्खरै यो विषय (सुन तस्करी) आएको छ, सरकारकै कुनै न कुनै निकायले पत्ता लगाएको पनि हो, केही समय पर्खिनुपर्छ, हेर्नुपर्छ’ उनले भने, ‘तुरुन्तै प्रतिक्रिया दिइहालौं भन्ने प्रतिक्रियाको दौडमा हाम्रो पार्टी छैन, गलत भयो भने हामीले राजीनामा माग्नु पर्याे भने लिएरै छाड्ने हो ।’ उनले सुन तस्करीको अनुसन्धान लगायतका विषयमा अघि बढेकोले सरकारका निकायलाई अनुसन्धान गर्ने समय दिनुपर्ने र त्यसलाई धैर्यताका साथ हेर्नुपर्ने बताए । लामिछानेले नेपालमा लामो समयदेखि सुन तस्करीमा जालो ठूलो रहेको कुरा तस्करीमा संलग्न रही समातिएकाहरुबाटै आएको बताए ।
‘समातिएकाहरुबाट नै म त सानो माछा हो ठूलो माछा बाँकी नै छ भन्ने भनाई आएका छन्, आम सर्वसाधारणको त एउटा मोबाइल छिर्दैन भने बिना सेटिङ त यति धेरै सुन छिर्दैन, सानो एउटा चिज त मेटल डिटेक्ट हुन्छ, मिलेमतो बेगर त हुँदैन’ लामिछानेले भने, ‘तर कसको र कुन ढंगको मिलेमतो हो भन्ने कुरा अनुसन्धानले मात्रै खुल्ला ।’
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भएकाले कतिपय अवस्थामा गल्ती कमजोरी पनि हुनसक्ने बताए । तर अहिले सबैले कहाँ गल्ती गर्छ भनेर पर्खिएर बस्ने गरेको र पूर्वाग्राही भएर धारणा बनाउने गरेको गुनासो गरे । सानातिना गल्तीलाई पर्खिएर बस्ने भन्दा कुन मुद्दा उठायो भन्ने हेर्नुपर्ने बताए । ‘नयाँ शक्तिप्रति पूर्वाग्रही भएको हो कि भन्ने लागेको छ, संसदमा रास्वपाले कहानेर कहाँ गल्ती गर्यो भन्ने भन्दा संसदलाई अपराध चोख्याउने भाँडो नबनोस् भनेर हेर्ने कुरा महत्वपूर्ण हो ? उनले भने, ‘यसमा बहस भएन, रास्वपा कहाँनेर चुक्यो भन्ने मात्रै बहस भयो ।’