होमपेज / समाज
सुर्खेत । वर्षायाम शुरु भएसँगै हुनसक्ने विपद्लाई न्यूनीकरण गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाले विपद् व्यवस्थापनको पूर्व तयारी थालेको छ। शनिबार बिहान बसकेको विपद् व्यवस्थापन समितिको बैठकले वीरेन्द्रनगरका १६ वटै वडाले यही महिना भित्र वडा विपद् व्यवस्थापन समितिकाे बैठक बसेर आवश्यक पूर्वतयारी थाल्न नगरप्रमुख माेहनमाया ढकाल (भण्डारी) ले निर्देशन दिनुभएकाे हाे ।
नगरप्रमुख ढकालले विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय प्रशासनसँग नगरपालिकाले समन्वय गरेर पालिकामा रहेका विपद् व्यवस्थापनका सामग्राीहरु सहित पूर्वतयारीमा रहने गरी एयटा सयन्त्र बनाउने निर्णय भएको जानकारी दिनुभयाे।
नगरपालिका वडा नम्बर १२, १३, १४, १५ र १६ मा पहिरो जान सक्ने ठाउँको पहिचान गरि सचेतना फैलाउने र विपद्बाट हुने घटनाको तत्काल उद्दारका लागि सामाग्रीहरु तयारी अवस्थामा राख्ने निर्णय भएको छ।
डुबान क्षेत्रकाे सम्भावना रहेका वडा नम्बर १, २, ३, १० र ११ मा स्थलगत अनुगमन गरेर पानी निकास हुने स्थानहरु खुल्ला छन् की बन्द छन् त्यसको जानकारी लिने र आवश्यक तयारी थाल्ने निर्णय समेत भएकाे नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विपद्बाट बच्नका लागि स्थानीय प्रशासन, नगरपालिका र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी आवश्यक जनशक्ति, सामाग्री, पालिकाको डोजर र उद्दारका अन्य सामग्रीहरु तयारी अवस्थामा राखेको जनाएको छ।