होमपेज / समाज
सिन्धुली | व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले कमलमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा १४ वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको छ।
व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताइन् । अहिले धान रोपाइँ गर्ने बेलामा लम्पी स्कीन रोगबाट गोरु बिरामी पर्दा किसानलाई धान रोपाइँ गर्न समस्या भएको उनको भनाइ छ । कमलामाई नगरपालिकाले वितरण गरेको मिनी ट्रेलर र पावर ट्रेलरले धान रोपाइँ गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
कमलामाई नगरपालिकाले किसानलाई कृषि खेती गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको उनले बताइन् । उनले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घरघरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरूलाई यन्त्र उपलब्ध गराइएको बताइन् ।
किसानको मागको आधारमा नगरपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताइन् । कृषिको व्यावसायिकताले युवालाई विदेश पलायन हुनबाट रोकी यही स्वरोजगार बनाउने, यहाँको पैसा तरकारीका नाममा अन्यन्त्र नजाँदा यहीँका जनता आर्थिकरूपमा सबल हुने उनले बताइन् ।