होमपेज / समाज
हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले गाउँ-गाउँमा पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले चारवटा स्वास्थ्यचौकी मार्फत महिलाको सुविधाको लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरी गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले बताए। भिडियो एक्सरे सेवा मार्फत मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य ईकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य ईकाइबाट ६८ जना गर्भवती महिलाको चेकजाँच गरिएको संयोजक ढकालले बताए ।
गर्भवती जाँच र अल्ट्रासाउन्ड गर्नकै लागि यहाँका अधिकांश महिलाहरु सदरमुकाम र छिमेकी जिल्ला बाजुरामा रहेको अस्पतालमा जान नपरोस् भन्ने हेतुले पालिका स्वास्थ्य शाखाले गाउँमै यो सेवा प्रदान गरीरहेको उनको भनाई छ। सेवा गाउँमै प्रदान होस् भन्ने उद्देश्यले गाउँमै सेवा दिन थालिएको हो ।
गाउँपालिका वडा एक देखि पाँचसम्मका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि ग्रामीण अल्ट्रासाउन्ड मार्फत जाँच्ने र अवस्था अनुसार नियमित चेकजाँच गरी नियमित गर्भजाँचका लागि यो कार्यक्रम प्रभावकारी हुने पालिका अध्यक्ष लालकेश जैसीले बताए।
प्राथमिक उपचारमा समेत पछाडि रहेका गाउँहरूमा चिकित्सकसहितका अन्य विभिन्न शिविरसमेत विभिन्न समयमा सञ्चालन गरिरहेको अध्यक्ष जैसीले बताए।