ट्रेण्डिङ

होमपेज / समाज

पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज पोखरा विमानस्थलमा अवतरण

नेपालगाथा २०८० असार ६ गते बुधबार ११:५८:५६ मा प्रकाशित

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लिएका यात्रुलाई स्वागत गरे । 

जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली तथा आगामी शुक्रवार र शनिवार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी १३५ यात्रु पोखरा ओर्लिएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो ।

चीनको सिचुआन एयरलाइन्सको बुधवार चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच असार १ गते  सम्झौता भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top