ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी नेपालविरुद्ध विभिन्न दल र संगठन उभिएकाे चाैतारीकाे निष्कर्ष

नेपालगाथा २०८० असार ५ गते मंगलबार १३:५८:२६ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालका विरुद्ध विभिन्न दल र संगठनहरु उभिएकाे चौतारीले निष्कर्ष निकालेको छ ।  संगठनको चौथो सचिवालय बैठकमा महासचिव हिरामान लामाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पत्रकार महाससंघको सदस्यता सुद्धीकरण लगायतका विषयमा प्रेस चौतारी विरुद्ध सबै शक्ति एक भएर लागेका उल्लेख छ । सदस्यता सुद्धिकरणका १५ बुँदे मापदण्डमा भने प्रेस चौतारी नेपाल प्रतिबद्ध भएर लागिरहेकाे महासिचवकाे प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय पुँजीको विकास गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, जनताको जनवादी उत्पादन पद्धतिको विकास, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्दै सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्नु प्रेस चौतारी नेपालको मुख्य लक्ष्य भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिले आम सञ्चार क्षेत्र र सञ्चारकर्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, लगायत दृष्टिले नितान्त नयाँ मोडमा उभिएको प्रेस चौतारी नेपालको विश्लेषण छ । ‘सूचना प्रविधिमा अभूतपूर्व क्रान्ति भएको छ, यो क्रान्तिले अर्थतन्त्र, संस्कृति, आमसञ्चार, उत्पादन, वितरण प्रक्रिया र प्रकृतिमा नयाँ विशेषताहरू पैदा भइरहेका छन्, नेपाली सञ्चार जगतमा दलाल पुँजीपतिहरूले आफ्नो उद्देश्य पूरा गर्न मिडियाको पनि दुरुपयोग गरिरहेका छन्’, प्रतिवेदनमा स्पष्ट शब्दमा लेखिएको छ ।

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनले फैसला गरेको ‘समृद्धिका लागि सञ्चार कर्म प्रेस चौतारी नेपालको मूल मर्म’ भन्ने नारामा केन्द्रीकृत भई संगठनको कार्यदिशा, कार्यनीति, कार्यक्रम र कार्य योजना निर्माण गर्नुपर्ने निष्कर्ष सो संगठनले निकालेको छ । यो कार्यभार पूरा गर्न असाधारण रूपमा क्रियाशील हुनुपर्ने निष्कर्ष प्रेस चौतारी नेपालले निकालेको छ ।

संघर्षको आयाम बदलिएको बताउँदै प्रेस चौतारी नेपालले सयौँको जुलुस भन्दा एउटा आलेख, समाचार वा विचार बलशाली हुने निष्कर्ष निकालेको छ । सडकमा गरिने सयौँको प्रदर्शनभन्दा वा भौतिक उपस्थितिमा भएका आमसभाभन्दा कुनै एउटा सञ्चार सामग्री सुव्यवस्थित ढङ्गले निर्माण गरेर प्रवाह गर्न सक्यो भने त्यो प्रभावकारी हुने चौतारीको निष्कर्ष छ ।
चौतारीका सदस्यमा वैचारिक स्पष्टताको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष संगठनले निकालेको छ । चौतारीमा आबद्ध पत्रकारलाई व्यावसायिक रूपमा दक्ष बनाउन चौतारीले देशव्यापी तालिमहरूको आयोजना गर्ने महासचिवको प्रतिवदनमा उल्लेख छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता सम्पन्न भएको बैठकमा चौतारीका नयाँ इञ्चार्ज राजेन्द्र गौतमलाई स्वागत गरिएको थियो भने  पूर्व इञ्चार्जबाट बिदा हुनुभएका एमाले पार्टीका उपसचिव पृथ्वी सुब्बा गुरुङलाई बिदाइ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top