होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश अस्पताल स्तराेन्नति गरेर ५ सय शैय्याकाे बन्ने भएकाे छ । अस्पतालमा हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ ।
प्रदेश अस्पतालका निर्देशक प्रा डा. डम्बर खड्का र जेभी काठमाडौँ गौराश्याम सुन्दरबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हो । १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थप गरिने उक्त सम्झाैतामा उल्लेख गरिएकाे छ।
अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहनेगरी तला थप गर्न लागेको अस्पतालका निर्देशक डाक्टर खड्काले बताए । ‘तला थप भएपछि भीआईपी उपचार कक्ष, डिलक्स, क्याविन कक्षलगायत सुविधाहरू थप हुने उनले बताए ।
अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने निर्देशक खड्काले जानकारी दिए । उनले अप्रेसन कक्ष, ल्याब, एक्सरे, एमआरआई भवन छुट्टै राखिने उल्लेख गरे ।
शिक्षण अस्पताल भएमा विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्नेसहितको सुविधा पनि नयाँ भवनमा थप हुनेछ ।
२०८२ मंसिरसम्म तला थप गर्ने अवधि रहे पनि लक्ष्य अगावै काम सक्न आफू प्रतिबद्ध रहेको ठेकेदार कम्पनीले बताएको छ । अब केही दिनमा भौतिक कामहरू शुभारम्भ हुनेछन् ।