ट्रेण्डिङ

होमपेज / समाज

संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह बाह्र वर्षपछि

३१ जेठमा दीक्षान्त समारोह

नेपालगाथा २०८० जेठ २७ गते शनिबार १४:३२:४६ मा प्रकाशित

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह बाह्र वर्षपछि हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको दीक्षान्त समारोह भएको थियो । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको छैन । यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले जानकारी दिए । 

'विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो', उनले भने, 'तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेकाे थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।' विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी दाङ्गमै उक्त समारोह हुन लागेको हो । यो विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह भएकाे उनले बताए । 

यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको थियाे । विसं २०५७ पछि २०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो । यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको हाे । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ । 

दीक्षान्त समारोह नहुँदा ‘ग्र्याजुएट’ विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेका छैनन् । यसपटक विसं २०७७ सम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र विएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेकाे छ । 

त्यसमा पनि विश्वविद्यालय टपरमध्ये स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेलाई मञ्चमै बोलाइन्छ भने अन्य ‘ग्र्याजुएट’ लाई ‘फलोर’ मा राखिन्छ । प्रधानमन्त्री तथा कुलपतिले दीक्षामन्त्र ग्रहण गराएपछि प्रमाणपत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको उपप्रशासक विनयकुमार पोखरेलले बताए । 

त्यो प्रमाणपत्रले विश्वविद्यालयबाट दीक्षित भएको भनी अन्तर्राष्ट्रिय मान्यता पाउन सहज हुने उनको भनाइ छ । यस वर्ष लामो समयपछि दीक्षान्त समारोह गरिएको भए पनि अब भने नियमित गर्ने गरी तयारी गरेको उपप्रशासक पोखरेलले बताए । 

विश्वविद्यालय अब ‘सिस्टम’मा चल्ने भन्दै अब प्रत्येक वर्ष यो समारोह आयोजना गर्ने तयारी गरिएको उनको भनाइ छ । प्रधानमन्त्री तथा कुलपति आउने भएपछि तयारीलाई तीव्र पारिएको छ । विश्वविद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम हुने भएकाले त्यहाँ सडक कालोपत्रे गर्न लागिएको उपप्रशासक पोखरेलले बताए । 

त्यसका लागि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयबाट १० लाख रुपैयाँ बजेट आएको उनले बताए । त्यही बजेटबाट त्यहाँ कालोपत्रे गर्ने काम अघि बढेको छ । विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top