ट्रेण्डिङ

होमपेज / समाज

सबै जिल्लाको तापक्रम उच्च, सतर्क रहन सबैलाई आग्रह

मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने

नेपालगाथा २०८० जेठ २६ गते शुक्रबार १३:५६:१८ मा प्रकाशित

काठमाडौं । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ ।

ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’चल्ने क्रम थप उच्च बनेको छ ।

सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ । यसैबीच बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ ।

त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ लाई तोकिएको छ । अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन सुरु हुन करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना देखिएको छ ।

दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने सम्भावना भने रहेको छ । पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने क्रम जारी छ । धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम तत्काल घट्ने सम्भावना भने कम रहेको मौसमविद्हरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top