होमपेज / समाज
हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा पर्ने खेलामा पुल निर्माण नहुँदा यातायातका साधन तथा यात्रुलाई सास्ती भएको छ । सो क्षेत्रमा पर्ने साना ठुला खोलामा पुल निर्माण कार्य नभएका कारण यात्रुलाई सास्ती भएको हो ।
सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आएका चालक उपेन्द्र जैसीले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामा गाडी गुडाउन समस्या भइरहेको बताए । कर्णाली कोरिडोरको मुख्य सडकमै पर्ने सो खोलामा पुल निर्माणको काम भएको छैन । सो खोलामा पुल बनाउने तयारी समेत नभएको स्थानीयको भनाइ छ ।
अहिले साना गाडीहरूलाई पिली खोलामा यात्रा गर्न कठिन भएको भए पनि जसाेतसाे तर्ने गरेको चालक जैसीले बताए । पिली खोलाको पानी बढेका कारण जिपभित्र पानी पसेको बताउँदै उनले यात्रुलाई खोला वारी झारेर खोलामा यात्रा गर्ने गरिएको बताए ।
बर्खायाममा भने ठुला लोड गाडी र बस मात्र सो खोलामा सञ्चालन हुनेगरेका छन् । अन्य सबैखाले साना गाडीहरू बन्द हुन्छन् । हुम्लाको ताँजाकोट गाउँपालिका –५ को पैमा खोलामा पनि पुल नहुँदा यात्रुलाई समस्या हुनेगरेको छ । पिलुभन्दा पैमा खोला सानो भए पनि बर्खायाममा खोला बढेर यातायात सेवा अवरुद्ध हुनेगरेको स्थानीयको भनाइ छ । कर्णाली कोरिडोरमा पर्ने उक्त खोला हिल्सा सिमकोट सडक आयोजनाले हेर्ने भए पनि पुल निर्माण हुन सकेको छैन । गाेरखापत्र अनलाइनबाट ।