होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश प्रहरीले जिल्लाभरी विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । अघिल्लो वर्षको श्रावणदेखि शुरु गरेको सचेतनामूलक कार्यक्रम यस वर्षको जेठ १५ गतेसम्म आइपुग्दा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरेर २ हजार ८ सय ६६ वटा कार्यक्रम सम्पन्न भएका छन् ।
सामुदाय प्रहरी साझेदारी अन्तर्गतका ३० वटा शीर्षकहरुमा सञ्चालन भएको कार्यक्रमबाट १लाख २० हजार ५ सय ८९ जना मानिसहरू लाभावान्वित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी प्रदेशभरीमा ट्राफिक सम्बन्धी ३,०२५ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी १,७३,८४६ जना लाभान्वित भएका छन् ।
कर्णाली प्रदेश प्रहरीले लागु औषध, मानव बेचबिखन, जवर्जस्ती करणी, घरेलु हिंसा, महिला हिंसा, बाल विवाह, बहु विवाह, आत्माहत्या, आगलागि नियन्त्रण र सवारी दुर्घटना लगायतका ३० वटा शिर्षकहरूमा कार्यक्रमहरू संचालन गर्दै आएको छ । सामुदायिक कार्यक्रमहरू विशेषगरी समुदाय र विद्यालयहरूमा केन्द्रित भई हुने गरेका छन् ।
कर्णाली प्रदेश अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्म ५ सय ३२ वटा सामुदाय प्रहरी साझेदारी र एक हजार ३ सय ३५ वटा ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय दैलेखले ४ सय ४८ वटा समुदाय प्रहरी साझेदारी र २ सय ६३ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कालिकोट जिल्लामा २ सय ७३ वटा समुदाय प्रहरी साझेदारी र एक सय ४८ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । मुगु जिल्ल्लामा भने एक सय आठ वटा समुदाय प्रहरी साझेदारी र ८७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् भने जुम्ला जिल्लामा २ सय ४३ वटा समुदाय प्रहरी साझेदारी कार्यक्रम र २ सय ४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् ।
डोल्पा जिल्लामा एक सय ८६ समुदाय प्रहरी साझेदारी र ७९ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम, हुम्ला जिल्लामा १ सय ४६ समुदाय प्रहरी साझेदारी र ४१ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । यसैगरी जाजरकोट जिल्लामा २ सय २७ समुदाय प्रहरी साझेदारी र १ सय ६८ वटा ट्राफिक सचेतनामूलक, सल्यान जिल्लामा २ सय ३९ समुदाय प्रहरी साझेदारी र २ सय ९७ ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । यसैगरी पश्चिम रुकुममा ४ सय ६४ समुदाय प्रहरी साझेदारी र २ सय ८७ ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पपन गरिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसबाट आम मानिसहरूलाई विभिन्न किसिमका फौजदारी अपराध तथा सामाजिक अपराधहरूको बारेमा जानकारी भई सचेतनामा वृद्धि भएको छ भने समुदायमा ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रमले ट्राफिक नियमको बारेमा जानकारी भई र सवारी दुर्घटनामा कमी आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको दाबी रहेको छ ।