होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह सहित पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीद्वारा विद्यापुर जनता बहुमुखी क्याम्पस, विद्यापुर, सुर्खेतको भ्रमण गरी अनुगमन तथा अन्तरक्रिया सम्पन्र गरेकाे छ।
अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा.डा. सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेका गुनासा तथा समस्याहरुलाइ सम्बोधन गर्नुभएको थियो । साथै उपकुलपति प्रा.डा. सिंहले क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पसका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट इमान्दारिताका साथ लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमका बीच पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारीले गरीब, असहाय र अनाथ विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न आफुले प्राप्त गर्ने सेवा सुविधाबाट वार्षिक रु. १ लाख गरी जम्मा कार्यकाल अवधिको रु. ५ लाख विद्यापुर जनता बहुमुखी क्याम्पसलाई अक्षयकोष स्थापना गर्न प्रदान गर्ने बताउनुभयाे । साथै उहाँले आफ्नो कार्यकाल पश्चात तथा जीववनोपर्यन्त समेत उक्त अक्षयकोषमा सक्दो योगदान निरन्तर रहने कुराको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यापुर जनता बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सचिव जनक विष्टले क्याम्पसमा अक्षय कोष निर्माणका लागि रु. ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो । त्यसै गरी क्याम्पसको छात्रवृति कोषका लागि विद्यापुर जनता बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख डिल्लीराम भण्डारीज्यू बाट रु. १ लाख र समाजसेवी हेमप्रकाश भुसालबाट रु. १ लाख १ हजार १ सय १५ रकम प्राप्त भईसकेको जानकारी क्याम्पसका क्याम्पस प्रमुख तीर्थबहादुर शाहीले जानकारी दिनु भएको छ।
उक्त कार्यक्रममा विद्यापुर जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी रतन वि.क. ले स्नातक तह प्रथम सेमेस्टरको सत्रान्त परीक्षा ३.७३ SGPA प्राप्त गरी विश्वविद्यालय प्रथम गरेकोमा उपकुलपतिज्यूले बधाई तथा सम्मान गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपति सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले क्याम्पसको भवन, कक्षाकोठा, छात्राबास, क्यान्टिन, लाइब्रेरी, खेल मैदान, शौचालयलगायत समग्र क्याम्पसको अवस्थाबारे अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा देखिएका सकारात्मक प्रयासको प्रसंशा गर्नुका साथै कमी-कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले आवश्यक कदम चाल्नुपर्ने गरी उपकुलपतिले निर्देशन दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. चन्द्रप्रसाद रिजाल लगायत उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।