होमपेज / समाज
सिमकोट । खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालय ताक्लामा चार महिनादेखि खानेपानीको अभाव भएको छ । गत फागुन पहिलो सातादेखि सोही विद्यालयमा खानेपानीको अभाव भएपछि विद्यार्थी शुद्ध खानेपानीका साथै पढाईबाट बञ्चित भएका छन् ।
पानीको नहरमा केही समस्या भएको होकी भन्दै सोही विद्यालयका विद्यार्थी आफैले मर्मत गरे पनि पानी उपलव्ध हुन नसकेको छात्रा अस्मिता सुनारले गुनासो गरिन् । उनले पानी नआएको चार महिना बितिसक्दा पनि त्यस तर्फ कसैको ध्यान नगएको समेत बताइन् ।
खानेपानी उपलव्ध गर्नका लागि जेठ ९ र १० गते १५ जना विद्यार्थीले नहर खन्ने काम गरे पनि धारामा पानी आएन अर्का छात्र सुरेश बुमीले गुनासो गरे । बुमीका अनुसार विद्यालयका धारामा पानी आउन छोडेदेखि आधा घण्टा लगाएर खोलाको धमिलो पानी ल्याउनुपर्ने बाध्यता छ । त्यस वेलासम्म पढाई समेत छुट्ने गरेको गुनासो गरेका छन् । उक्त खोलाको धमिलो पानीले स्वास्थ्यमा समेत समस्या गर्ने गरेको छात्र हिक्मत सार्कीले बताए ।
प्रधानाध्यापक गणेश शाहीका अनुसार पानी अभावमा विद्यालयका विद्यार्थी र शिक्षकलाई शाैच गर्न समेत समस्या हुने गरेको छ । यतिखेर पानी नभएपछि बालबालिकाहरूले विद्यालय परिसर वरिपरी दिसापिसा गरेर विद्यालयनै दुरगन्धित बन्दै गएको छ । हाल सोही विद्यालयका १ सय ६ जना विद्यार्थी अध्यानरत छन ।