होमपेज / समाज
नरैनापुर। बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विधालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
बिधालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए। विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताए।
‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उनले भने, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’ अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्नु हुने एनआरएनए र फाउण्डेशनलाई धन्यबाद दिदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्न तर्फ भूमिका खेली दिन आग्रह गरेका थिए ।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब बिधार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नं.१ को विधालयमा शैक्षिक सामग्री उपलब्ध गराइएको बताए। उनले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गाँउपालिकाका अध्यक्ष शाहको अधयक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पौडेल, विद्यालयका प्रधानध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।