होमपेज / समाज
हुम्ला । ६ महिनापछि हुम्लाकाे हिल्सा सीमा प्रहरी चौकी पुन: सञ्चालनमा आएकाे छ। चिनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका ५ हिल्सामा रहेकाे उक्त चाैकी आइतबारबाट पुन: संचालनमा आएको हाे ।
उक्त सीमा नाकामा कार्तिक/मंसिरबाट हिमपात हुने हुँदा अत्यन्तै चिसो बढेपछि सीमा प्रहरी चौकी गत मंसिरमा सदरमुकाम सिमकोटमा स्थानान्तरण गरिएकाे थियाे । हिउँदमा अत्याधिक हिमपात हुने हुँदा मानिसकाे आवत जावत पनि बन्द हुने र सीमा सुरक्षामा खटिएका प्रहरीहरुलाई रासन, पानीमा पनि समस्या हुने हुँदा सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले बताए।
काेराेना भाइरसका कारण करिब ४ वर्ष बन्द रहेकाे हिल्सा नाका गत वैशाख १८ गतेबाट पुन: खुलेसँगै मानिसकाे आवतजावतमा वृद्धि भएकाे छ । यता, साेही गाउँपालिकाकाे वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकीका लागि प्रहरीको टोली सदरमुकामबाट हिडे पनि बाटोमा ४ दिन लाग्ने भएकाले बुधबारबाट मात्र संचालनमा आउने प्रमुख प्रहरी नायब उपरिक्षक भट्टराईले बताए । उक्त प्रहरी चाैकी पनि गत मंसिरमा नै सदरमुकाम फर्किएकाे थियाे ।
हाल हिल्सामा १३ र सुनखानीमा ११ जना सूरक्षाकर्मी कार्यरत छन् । हिल्सा नाकामा रहेको नेपाल प्रहरीको सीमा प्रहरी चौकी सदरमुकाम झरे पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) सीमा सुरक्षा चौकी भने हिउँदभरी हिल्सामै बसेको थियो ।