होमपेज / समाज
काठमाडौं। संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सामुदायिक अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिने नीति लिएको बताए।
साथै उनले सरकारले सामुदायिक अस्पतालहरुको बहिरंग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाउने नीति लिएको समेत जानकारी दिए ।
अस्पतालको ओपिडि सेवा १२ घण्टा सञ्चालन गर्ने सरकारको नीति नयाँ भएपनि अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको नीति भने नयाँ होइन।
यसअघि सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागु गर्ने घोषणा गरेको थियो।
तर सो आर्थिक वर्षको अन्तिम महिनामा १० अस्पतालमा मात्र सो कार्यक्रम लागु गरिएको घोषणा गर्दै बजेट विनियोजन गरिएकाे थियाे।
राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो।तर यी अस्पतालहरुमा कार्यक्रम सफल नभएर पुन रोकियो।