होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलगायतकाे पदाधिकारीकाे संयुक्त टोलीले जलजला बहुमुखी क्याम्पस रोल्पाकाे भ्रमण गर्नुका साथै अनुगमन तथा अन्तरक्रिया गरेकाे छ । साेही अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जलजला बहुमुखी क्याम्पस रोल्पाको नवनिर्मित भवनको शिलालेख अनावरण गरी समुद्घाटन समेत गर्नुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा.डा. सिंहज्यूले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेका गुनासा तथा समस्याहरुको सम्बोधन गर्नुभएको थियो । साथै उपकुलपतिले जलजला बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुले आ-आफ्नो स्थानबाट इमान्दारिताका साथ लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपति सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले क्याम्पसको भवन, लाइब्रेरी, शौचालयलगायत समग्र क्याम्पसको अवस्थाबारे अनुगमन गरेकाे थियो । अनुगमनको क्रममा देखिएका कमी-कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने गरी उपकुलपति प्रा.डा. सिंहले निर्देशन दिनुभएको थियो ।
विश्वविद्यालयको नियमित कार्यक्रमको रुपमा सम्पूर्ण आंगिक क्याम्पसहरुको अनुगमन भ्रमण गर्ने योजना अनुरुप विश्वविद्यालयकाे पदाधिकारीकाे संयुक्त टोली २०८० जेष्ठ १ देखि ४ गतेसम्म आंगिक क्याम्पसहरुकाे अनुगमनका लागि म्रमणमा निस्किएकाे थियाे । साेही अवसरमा भेरी बहुमुखी क्याम्पस गुमी, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पाको अनुगमन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । भ्रमण पश्चात प्राप्त सुझाव एवं तथ्यगत अवलोकनको आधारमा सम्बन्धित क्याम्पसहरुमा गर्नुपर्ने आवश्यक सुधार एवं बिबिध शैक्षिक गतिविधिहरु संचालन गरिनुका साथै क्याम्पस तहका भावी विकास निर्माणका योजना समेत तर्जुमा गरिने भ्रमण टाेलीका सदस्यले जानकारी दिनुभयाे ।

भ्रमण टाेलीमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा.डा. विमलकुमार लाल कर्ण, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा.डा. लिलाधर तिवारी र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा.डा. सुदीप ठकुरी सहभागी रहनुभएकाे छ ।
यसैगरी उक्त भ्रमण टाेलीमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. वीरबहादुर पौडेल, प्राचार्य उप-प्रा. जसबिर रोका, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य तथा कर्मचारी रहेका छन् ।
