होमपेज / समाज
सुर्खैत । सुर्खेतको बराहताल गाउँपालिका वडा न. ५ बडि्डचौर बजार क्षेत्रको विभिन्न चोक र स्थानहरूमा CCTV जडान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले CCTV को संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे थियो ।
कार्यक्रमका प्रमुख अतिथि डिआईजी भीमप्रसाद ढकालले CCTV सुरक्षा व्यवस्थापनको आधुनिक र प्रभावकारी उपरकरण भएकाे बताउनुभयाे । यसैगरी उहाँले बजार क्षेत्रका हरेक चोक र स्थानहरूमा CCTV राख्दा घटनाहरु कसरी घट्छन्, तिनको कारणहरु सजिलै पत्ता लगाउन सकिने हुँदा कुनै पनि घटनाहरूकाे न्यूनीकरण गर्नको लागि र को दोषी, को निर्दोष भन्न सजिलो हुने बताउनुभयो ।
डिआईजी ढकालले बराहताल गाउँपालिकाले सह्रानीय काम गरेको बताउँदै CCTV जडानले बडि्डचौर बजार क्षेत्रमा शान्ति, सुरक्षा अमन चयन हुनेमा अझ बढी विश्वास हुनुका साथै आगामी दिनमा बजार क्षेत्रमा हुने विभिन्न किसिमका चोरी, डकैती, तस्करी र सवारी दुर्घटनाहरु कम हुने विश्वास गर्नुभयाे।
कार्यक्रमका सभाध्यक्ष तथा बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले CCTV जडानको काम सम्पन्न भइसकेको हुनाले अबदेखि कोही कसैबाट अवाञ्छित काम गरेमा कसैले छुट नपाउने बताउनुभयाे । उहाँले CCTV जडान कार्यलाई आगामी आर्थिक वर्षकाे बजेटको शीर्षकमा विनियोजन गरी अन्य स्थानहरूमा पनि जडान गर्ने प्रतिवद्दता जाहेर गर्नुभयाे ।
बराहताल गाउँपालिकाले आ.व. २०७९/८० को बजेट शीर्षकमा बजेट विनियोजन गरी शान्ति सुरक्षा, सडक सुरक्षा लगायत अवाञ्छित क्रियाकलाप निगरानी गर्न र सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगको लागि अस्थायी ट्राफिक पोष्ट बडिचौरमा कन्ट्रोल रुम (Control Room) स्थापना गरी बजारको विभिन्न चोक तथा बाटोका विभिन्न आठ (८ ) स्थानमा ८ वटा सिसीटिभी क्यामेरा जडान गरेकाे छ।
बराहताल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धिमराज जुल्मी मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगर, वडा नं. ५ का पूर्व अध्यक्ष तिलक मर्साङ्गि, पार्टी प्रतिनिधि रुद्र बि.कले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बराहताल गाउँपालिकाका आईटी अफिसर गोविन्द सिजापतीले संचालन गर्नु भएको कार्यक्रममा स्थानीय जन प्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी, पार्टी प्रतिनिधि, व्यापार व्यवसायी, समाजसेवीलगायत स्थानीय मानिसहरुको उपस्थिति रहेको थियो ।
CCTV जडान उद्घाटन कार्यक्रमको आयोजना बराहताल गाउँपालिका र अस्थायी ट्राफिक पोष्ट बडिचौरले गरेको थियो ।