ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगरका योजनाकार माधवभक्त माथेमा

नेपालगाथा २०७९ फाल्गुण ७ गते आइतबार ०९:४१:४८ मा प्रकाशित

सुर्खेत । २०२९ सालमा पहिलोपटक सुर्खेत आएका थिए सहरी विकास योजनाका विज्ञ माधवभक्त माथेमा । सरकारी सेवाबाट रिटायर जीवन बिताइरहेका माथेमा ३५ वर्षपछि सुर्खेत आएका छन् । उनको नाम अहिले पनि कर्णालीमा ताजै छ ।

राजा वीरेन्द्रले २०२९ सालमा अध्यादेशमार्फत नगर विकासको अवधारणा अघि बढाए र त्यसै बेला वीरेन्द्रनगरको पनि गुरुयोजना बनाइयो । वीरेन्द्रनगरको गुरुयोजना बनाउने व्यक्ति थिए उनै माधवभक्त माथेमा । अहिले पनि माथेमाले बनाएको त्यही गुरुयोजनामै रहेर वीरेन्द्रनगरको विकास भइरहेको छ ।

माथेमाले वीरेन्द्रनगरलाई स्मार्ट सिटीका लागि बनाएको नगर गुरुयोजना गत माघ १६ गतेबाट ५० वर्ष पूरा गरेको छ । २०२२ सालअघि जतिबेला सुर्खेत उपत्यका औलो रोग संक्रमणको उच्च जोखिममा थियो । महामारीकै रूपमा रहेको औलोको त्रासले उपत्यकामा मानिसहरू खेतीपातीका लागि झर्थे तर बसोवास भने उत्तरतर्फको भेगमा गर्थे ।

वीरेन्द्रनगर उपत्यकामा २०२२ सालमा जब औलो उन्मुलनको घोषणा भयो त्यसपछि खेती लगाउनका लागि मात्र उपत्यका झर्ने मानिसहरू स्थायी रूपमा बस्न आउने क्रम सुरु भयो । त्यसयता विस्तारै उपत्यका बस्तीका रूपमा विकास भयो । अहिले वीरेन्द्रनगर एक ठूलो शहरका रूपमा विकास भएको छ । यो उपत्यकालाई २०३९ सालदेखि वीरेन्द्रनगर नगरपालिका भनेर चिन्न थालिएको हो । २०२४ सालतिर अमेरिकाबाट आएका स्वयमसेवकहरूले उपत्यकामा बाटोको रेखांकन गरेका थिए ।

माथेमाको सुर्खेत आउने योजना एक्कासि बनेको हो । ‘भर्खर अमेरिकाबाट अर्बन प्लानिङमा मास्टर्स सकेर काठमाडौं आएको थिएँ, कोठामा नपस्दै प्रमुख इञ्जिनियरले चिठी थमाएर सुर्खेत जानुपर्‍यो भन्नुभयो,’ ३५ वर्षपछि सुर्खेत आएका माथेमाले भने, ‘मैले पनि हुन्छ भनेर सुर्खेत आएँ, त्यतिबेला संयुक्त राष्ट्रसंघ विकास परियोजनाको जहाज १५ हजारमा चाटर्ड गरेर मेरो समूह सुर्खेत आएको थियो ।’

माथेमाका अनुसार काठमाडौं बसेर वीरेन्द्रनगर उपत्यका पत्ता लगाउन निकै कठिन भएको थियो । त्यो बेला माथेमा समूह सुर्खेतमा केही समय बसेर वीरेन्द्रनगर उपत्यकाको विकास योजना बनाएको थियो ।

माथेमाको समूहले त्यस बेला तीन चरणमा विकास गर्नेगरी योजना बनाएको थियो । जसमा पूर्वको ईत्राम खोलादेखि पश्चिम खोर्के खोलाको बीचको भागलाई सरकारी लगानीमा शहरी विकास गर्ने, त्यसभन्दा उता भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्गभन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रूपमा विकास गर्ने योजना थियो ।

लामो समयपछि सुर्खेत आएका योजनाकार माथेमाले अहिले अघिकांश वीरेन्द्रनगरको विकास आफूले गरेको गुरुयोजना अनुसार नै भएको बताए । उनी कर्णाली उत्सवमा वक्ताको रूपमा सहभागी हुन बिहीबार सुर्खेत आएका थिए । उति बेला साविक कर्णालीमा भोकमरी व्याप्त थियो भने सुर्खेतको सदरमुकाम गोठीकाँडा हालको वीरेन्द्रनगर सडक सञ्जालमा जोडिएको थिएन ।

सुर्खेतलाई अरु देशको शहरलाई हेरेर गुरुयोजना भने बनाइएको होइन । यसलाई यहीँको मौलिक शहरका रूपमा विकास गर्ने योजना बनेको थियो । ‘म सुर्खेत आउँदा यहाँ ठूलो भोकमारी थियो, त्यो बेला मैले गरिबीको महशुस गरेको थिएँ । त्यही भएर त्यतिबेला मैले नेपालबाहिरका शहरको परिकल्पना गरेर योजना बनाइनँ,’ माथेमाले भने । माथेमा हवाई यात्रामार्फत सुर्खेत झरेका थिए । माथेमा उती बेला पैदल यात्रामै जुम्लासम्म पुगेका थिए ।

वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ वि.सं. २०२३ सालबाट भएको पाइन्छ । यसभन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने हुदा जिल्ला सदरमुकाम तत्कालीन गढी गाउँ विकास समिति गोठीकाँडा थियो । उपत्यकामा फाटफुट रूपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भएपछि उपत्यकामा बसोबास गर्न थालियो र २०२८ सालमा सबै सरकारी कार्यालयहरू गोठीकाँडाबाट वीरेन्द्रनगरमा स्थानान्तरण गरी सदरमुकाम तोकियो ।

कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको यस वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि।सं। २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायत बन्यो ।

नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णयबमोजिम साविकका छिमेकी उत्तरगंगा र लाटिकोइली गाविस तथा २०७१ मंसिर १६ गतेको निर्णयअनुसार जर्वुटा गाविस वीरेन्द्रनगरमा गाभिएका थिए । यस्तै २०७२ असार १५ गते एउटा वडा थप गरी जम्मा वडा संख्या २५ कायम गरिएको थियो । तर, देश संघीयतामा गएसँगै २०७३ फागुन २७ गतेको निर्णयानुसार विस्तारित नगरमा साविकका गढी, रतु र गर्पन गाविस गाभी २४५।८५ वर्ग कि।मी। क्षेत्रफलसहित १६ वडामा समावेश भएर वीरेन्द्रनगर नगरपालिका बनेको छ ।

संघीय राजधानी काठमाडौंदेखि करिब ६ सय कि।मि। पश्चिममा समुन्द्री सतहबाट लगभग ६ सय ६५ मीटरको उचाइमा वीरेन्द्रनगर अवस्थित छ । नगरपालिकाको उत्तरमा महाभारत पर्वतको गुराँस फुल्ने लेक रानीमत्ता, रातानाङ्ग्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका रूपमा वीरेन्द्रनगर रहेको छ ।

यस नगरपालिकाको पूर्वमा भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, पश्चिममा बराहताल गाउँपालिका, उत्तरमा दैलेखको गुराँस गाउँपालिका र दक्षिणमा भेरी नदीले सीमाना छुट्याएको छ । वीरेन्द्रनगर २०२२ मा हवाई र २०३८ सालमा रत्नराजमार्ग बनेपछि सडक यातायातसँग जोडिएको थियो । यो नगरपालिका पश्चिम नेपालकै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकिय केन्द्र समेत बन्न पुगेको छ । पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिकामध्येको एक हो । नेपाली रैबारबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top