होमपेज / समाज
काठमाडौं । कृष्णपुर नगरपालिका– ५ का सीताराम चौधरी बिहानै पकवान बोकेर दिदी भेटन घरबाट निष्कनुभएको छ । थारु समुदायमा अटवारी पर्वको दोस्रो दिन घरमा बनाइएका पकवान दिदीबहिनीको घरमा पु¥याउनुपर्ने चलन छ ।
“आज दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पानीसमेत नपिएर व्रत बस्यौँ”, चौधरीले भन्नुभयो,“रोटीसँगै फुलौरी, केराउ, पटौला, ठच्चालगायतका पकवान र माछाको सिद्रा लगेर दिदीलाई भेटन नजिकैको बाणि गइरहेको छु, भेटमा भलाकुसारीसँगै फर्कने बेला दिदीले दिने कासेली बाकेर फर्कन्छु ।”
पकाएको रोटीसँगै अन्य पकवानलाई बर्तालु सबैको भागसँगै अर्को भाग छुट्याउने गरिन्छ जसलाई अग्रासन भन्ने गरिन्छ । बर्तालुले आ–आफ्नो भागबाट अर्को भाँडामा खाने कुरालाई अलग्याएर राख्ने गरिन्छ । अलग्याएर राखेको खानेकुरा आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन यस समुदायमा रहेको छ । शुक्लाफाँटा नगरपालिका – ३ का आशिष चौधरीले समेत गाउँमै रहेका दिदीलाई कोसेली पु¥याएर फर्कनुभएको छ । “दिदीलाई कोसेलीका रुपमा घरमा पकाईएका पकवान पु¥याएर फर्किए”, उहाँले भन्नुभयो । “दिदीसँग ढोग सेवा लाग्नुका साथै आर्शिवाद समेत पाएको छु, दिदीबहिनी र दाजुभाइको स्नेहको पर्वका रुपमा अटवारीलाई लिँदै आएका छौँ, यो पर्व परापूर्वकाल देखिनै चल्दै आएको छ, यस पर्वलाई म जस्त नयाँ पिँढीका युवाले जीवन्त राख्ने कोसिस गरेका छौँ ।”
यस पर्वमा दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्ने गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । आज दिनभरि थारु समुदायका दाजुभाइले दिदीबहिनीका लागि कोसेली बाकेर जाँदै गरेका दृश्य सहज रुपमा देख्न सकिन्छ ।
“विगतमा बाँसको डण्डीमा दुवैतर्फ टोकरी झुन्ड्याइ त्यसमा काँधमा बोकेर कोसेली लैजाँदै गरेको दृश्य देखिन्थ्यो”, कालीप्रसाद डगौराले भन्नुभयो, “बदलिँदो परिवेश अनुसार पुरानो चलन हराउँदै गएको छ, हाल साइकल र मोटरसाइकलमा कोसेली राखेर लैजाने गरिन्छ ।” दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले अटवारी पर्व मनाउँदै छन् । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिइ व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्नुपर्ने चलन रहेको छ । व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलबाट बरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु अगुवा सुरेश चौधरीले बताउनुभयो ।
बर्तालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन् । जसलाई कहार्नी भन्ने गरिएको उहाँले बताउनुभयो । व्रत बसेको साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चारजना मिली आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा पहरु चौधरीले बताउनुभयो । रोटी र परिकार बनाउने ठाउँमा बर्तालुबाहेक अन्यलाई जान र छुन मनाही हुने गरेको उहाँले जानकारी दिनुभयो । यो पर्व थारु समुदायको दसैँपछिको ठूलो चाडपर्वका रुपमा रहेको छ ।
पौराणिक राजा दङ्गीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यो पर्व मनाउँदै आएको थारु बुद्धिजीविको भनाइ छ । रासस