होमपेज / समाज
जीवनमा सबैले छिटनकाे जस्तै संघर्ष गर्ने हाे भने अरु भर परेर केही गर्न सकेन भनेर पछुताउनु पर्दैन । त्यसैले भनिन्छ संघर्ष गर्नेहरु कहिल्यै हार्दैनन् ।
सजिएका फुलहरु, बिहानीको समयमा मन्दिरमा बालेको अगरबत्तीको बासनासँगै खुलेको त्यो ढोका, सानो घुम्तीभित्र पूजाका सजिएका सामान, बिहानीको किरणसङ्गै नयाँ जोश, नयाँ उमङ्गका साथ खुलेका ती आखाँ । बिहानी भएदेखि राति नपर्दासम्म आखाँ र शरीर थाकदैनन् ।
वि.सं. २०३८ सालमा जुम्लाको सिंंजामा जन्मिएकी छिटन हमालका ६ भाइबहिनी छन् । छिटनलाई खेल्ने, रमाउने, पढ्ने समयमा नै वैवाहिक सम्बन्धमा बाधिनुपर्यो । विसं. २०५० सालमा १२ वर्षको उमेरमा साथीसङ्गीसँग खेल्ने, रमाउने उमेरमा छिटनको विवाह भयो । विहे पछि छिटनका सबै रहरहरु केवल रहरमा मात्रै सीमित भए । तत्कालिन समयमा जुम्लाको सिंजामा सानै उमेरमा नै विवाह गरिदिने चलन थियो ।
छिटनका श्रीमानले गलैचाको घुमन्ते व्यपार गर्दथे । व्यापारकै सिलसिलामा छिटनका श्रीमान पोखरा गएपछि छिटनले घरमा थप संघर्षका दिनहरु बिताउन थालिन् । उनका श्रीमान पोखराबाट पाँच वर्ष ६ महिनापछि घर फर्किए यतिका समयसम्म छिटनले घरमा एक्लै संघर्ष गरिन् । यसले उनलाई संघर्ष र जिम्मेवारी दुवै सम्हाल्नु पर्ने भयो ।
छिटनले २०५५ सालमा पहिलो सन्तानको रुपमा छोराको जन्म दिइन् । त्यति वेला छिटन १७ वर्षकी थिइन् । त्यसपछि छिटनका श्रीमान परिवारसहित रोजगारी खोज्दै सुर्खेतको वीरेन्द्रनगर आए । सुर्खेत आएपछि कान्छो सन्तानको रुपमा फेरि अर्को छोराको जन्म भयो । सुर्खेतमा एउटा सानो कोठा भाडामा लगेर छिटनले फेरि संघर्ष गर्न थालिन् । उनका श्रीमान फेरि पनि घुमन्ते व्यपार नै गर्न थाले । यही बीचमा छिटनले घुम्तीमा फलफूल र पूजाका सामान बिक्री गर्ने सोच बनाइन् ।

सोही सोच अनुसार छिटनले वीरेन्द्रनगर नगरपालिकाको पिपिरा गंगामाला देउतीबज्यै मन्दिर अगाडि सानो घुम्ती राखेर दैनिक गुजारा गर्न थालिन् । घुम्तीमा पूजाको समान र फलफूल तथा तरकारीहरु बेच्नु छिटनको परिवारको दिनचर्या थियो । छिटनका श्रीमान घुमन्ते व्यापार गर्दागर्दै बिरामी परे । वि.सं. २०६२ सालमा हृदयघातका कारण उनका श्रीमानको मृत्यु भयो ।
त्यसपछि छिटनका पिडादायी दिनहरु फेरि सुरु भए । २४ वर्षे लाउलाउ र खाउखाउ भन्ने उमेरमा छिटनले विधवा हुनुपर्यो । चौबिस वर्षको उमेरमा श्रीमान गुमाएको पिडा छदै थियो बाँकी जीवन कसरी चलाउने होला, छोराहरु कसरी हुर्काउने भन्ने पीडाले छिटनलाई थप चिन्तित बनाउन थाल्यो । छिटन हमाल सानै उमेरदेखि नै संघर्ष गर्न सिकेको र जिम्मेवारीवोध पनि भएकाले कमजोर मन गरिनन् ।
भगवानले ‘तँ आँट गर म पूरा गर्छु भने झैं’ छिटनले निरन्तर संर्घष गरिरहिन् । छोराहरु हुर्कदैं गए । उनीहरुलाई लेखाउने, पढाउने काम पनि सुरु गरिन् छिटनले । बिहान ३ बजे उठेर कोठाको सरसफाई गरेर खाना बनाएर पसल खोली बिहानको समयमा पूजाको समान बिक्री गर्छिन् । यतिमात्र कहाँ हो र । छिटनले बिहानी पख पूजाको समान बिक्री गरेर दिउसो समयमा ज्याला, मजदुरी गर्न जान्थिन् । अनि फेरि बेलुका आएर पसल खोलेर तरकारी तथा फलफूल बिक्री गर्नु छिटनको दैनिक क्रियाकलाप हो ।

संघर्ष नै संघर्षमा दिन बिताइरहेकी छिटनले शुरुका दिनहरुमा पसलबाट दैनिक लगभग दुई सयदेखि तीन सय रुपैयाँसम्म आम्दानी गरेको बताइन् । यसरी कमाइ गरेको रुपैयाँलाई छिटनले अलिकता कोठाको भाडा, अलिकता छोराहरुको पढाइ खर्च र अलिकता बचत पनि गर्न थालिन् । शुरुमा जुम्लाबाट वीरेन्द्रनगर सुर्खेत आउनेबेलामा जुम्लाको जग्गा बेचेको रकमले सुर्खेतको वीरेन्द्रनगर– ११ पिपिरामा घडेरी किनेकी थिइन् ।
छिटनले अहिले अलि अलि गरेर जम्मा गरेका पैसाले त्यही घडेरीमा सानो घर बनाएकी छिन् । संघर्ष दिनहरु बिताउदै गर्दा छिटनले छोराहरुलाई पढाउनका लागि एसओएस संस्थामार्फत् कपी, किताब र विद्यालय पोशाक र नाम लेखाउने पैसा पनि सहयोग प्राप्त गरेकी छिन् । छिटनले जीवनमा कहिल्यै निराश भइनन् । उनले संघर्ष गरेपछि सफलता पाउँछु भन्ने आशा उनमा पलाउन थाल्यो ।
अब छिटनका संघर्ष दिन र दुःखका दिन विस्तारै घट्न थालेका छन् । अहिले उनले सानो घर बनाएपछि कोठाका लागि तिर्ने भाडाको पैसा पनि बच्न थाल्यो र अलिअलि बचत भएको पैसाले छिटनले ढलान घर बनाउने आँट गरिन् । ढलान घर बनाउँदा छिटनले ऋण पनि लगिन् । उनले जीवनमा संघर्ष गर्नुपर्छ भन्ने कुरालाई सधै मनन् गरिन् र विस्तारै विस्तारै ऋण पनि तिरिन् ।
अहिले छिटनको कान्छो छोराले एसएलसीसम्मको अध्ययन पछि विहेवारी गरेर आमासँगै पसलमा सहयोग गरिरहेका छन् । उनको जेठो छोरा भने अहिले १२ कक्षामा पढदै छन् । अझै पनि छिटनले संघर्ष गर्न भने छोडेकी छैनन् । बिहान सबेरै उड्नु, गाउँगाउँमा गएर आफै तरकारी बोकेर ल्याउनु र ताजाताजा तरकारी बेच्नु उनको नियमित कर्म हो । उनको पसलमा ताजा तरकारी र केही सस्तोमा पनि पाउने भएपछि ग्राहकहरु पनि उनकै पसलमा आकर्षित हुने गर्छन्।
छिटनले औपचारिक रुपमा विद्यालयमा अध्ययन गर्न नपाएन पनि दैनिक हिसाब किताबमा भने अब्बल छिन् । यो सबै उनले पढेर होइन परेर जानेकी हुन् । जीवनको लामो संघर्ष पछि विस्तारै सुखका सास फेर्न थालेकी छिटनले अरुलाई पनि जस्तो सुकै परिस्थितिमा पनि संघर्ष गर्न डराउन नहुेन सल्लाह दिन्छिन् ।
अहिले दुई छोराहरु एउटा बुहारी र नातीनीसँगै विगतका दुःख, पीडाहरु विस्तारै भुल्ने प्रयासमा लागेकी छन् छिटन। उनी भन्छिन् संघर्ष गर्नेहरु जीवनमा कहिल्यै हार्दैनन् । अहिले छिटन संघर्षदेखि भाग्ने र दुःखमा भाग्नेहरुका लागि एक संघर्षशील महिलाका रुपमा उदाहरण बनेकी छिन् ।
पिपीरा, सुर्खेत ।